रोल्पामा सोनापुर सिमेन्टद्वारा नियम विपरीत चुनढुंगा उत्खनन,झण्डै रू. ७ करोडको मुद्दा दायर
काठमाडौं । दाङमा रहेको सोनापुर सिमेन्ट उद्योग र सञ्चालक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अन्य ९ वटा सिमेन्ट तथा खानी उद्योग र सञ्चालकसहित सोनापुर सिमेन्ट उद्योग र उद्योगका सञ्चालक विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।
सोनापुर सिमेन्ट उद्योगले अनुमति लिएको भन्दा बाहिर गएर चुनढुंगा उत्खनन् गरेको र राजश्व छलेको भन्दै अख्तियारले उद्योग र उद्योगका सञ्चालक निपेश तायलका विरुद्ध ६ करोड ९८ लाख ९९ हजार ४ सय १५ रुपैयाँको भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सोनापुरले रोल्पाको रुन्टीगढीमाबाट चुनढुंगा उत्खनन गर्दै आएको छ । सोनापुर सिमेन्टले नियम विपरित खानी उत्खनन् गर्दै आएको पटक पटक गुनासो आएपनि सुनुवाई भएको थियो ।
खानी तथा भूगर्भ विभागले समेत १ लाख रुपैयाँ जरिवाना गरेर छोडेको थियो । विभागले समेत बदमासी गरेको खुलेपछि अख्तियारले विभागका महानिर्देशकसहित सोनापुर सिमेन्ट र अन्य ८ उद्योग र त्यसका सञ्चालक तथा विभागका कर्मचारी विरुद्ध माघ १२ गते मुद्दा दायर गरेको हो ।








