५ पुस २०८२, शनिबार

गेट कलेजका ११६ विद्यार्थी दीक्षित

प्रकाशित मिति :  28 January, 2022 12:39 pm


काठमाडौं । निजी क्षेत्रको अग्रणी होटल व्यवस्थापन शिक्षा प्रदायक ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले हालै बाह्रौं दीक्षान्त समारोह आयोजना गरि कलेजका ब्याच २१ र २२ का विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

कोभिड–१९ महामारीका कारण सरकारले तोकेको स्वास्थ्य प्रोटोकलअन्तर्गत रही विद्यार्थीहरूको सानो समूहबीच आयोजना गरिएको सो कार्यक्रममा ११६ जना विद्यार्थीहरूलाई तोकिएको स्वास्थ्य मापदण्डभित्र रहँदै भौतिक दूरी कायम गरी काठमाडौं म्यारियटमा आयोजित विशेष समारोहबीच दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका विशेष अतिथि नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले नेपालले संख्यात्मक रूपमा ठूलो आकार हेर्नुभन्दा दिगोपन र सामुदायिक पर्यटनमा ध्यान दिन आग्रह गरे ।

स्विजरल्यान्डको इकोल होटेलिएर डे लुजान (इचएल)का शैक्षिक प्रमुख डा. जुआन एफ. पेरेलोनले श्रव्यदृष्य सन्देश पठाउँदै गल्तीहरूबाट नडराई नवर्सिजना र दिगोपनमा ध्यान दिँदै इएचएलको विश्वव्यापी नेटवर्क परिवारमा एक अर्काको साथमा रहँदै अघि बढ्न सुझाव दिए ।

कार्यक्रमकी विशिष्ट अतिथि आनी छोइङ डोल्माले संकटको समयमा थप दयालु मन र उच्च साझा भावनाको आवश्यकता औंल्याउँदै “निःस्वार्थ रूपमा अरूको सेवा गरेमात्र हामीले मानवतालाई दिगो तुल्याउन र एकअर्काको हेरिविचार गर्न सक्छौं” भन्ने धारणा राखिन् ।

अन्य विशिष्ट अतिथिहरूको तर्फबाट गेट कलेजको अनुसन्धान प्रमुख डा. जान हमेल, विश्व वन्यजन्तु कोषको नेपालका लागि राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ र गेट कलेज शैक्षिक डीन डा. जीवकराज बज्राचार्यलगायतले नेपालमा होटल व्यवस्थापन शिक्षा र परिवर्तित विश्व परिवेशमा मानवीय भावका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।

स्वास्थ्य प्रोटोकलका कारण भौतिक उपस्थित नभइ दीक्षित विद्यार्थीहरूका लागि जुममार्फत् गेट एकेडेमिक काउन्सिलका प्रमुख प्रा. पिटर जोन्स, सल्लाहकार समितिका सदस्य डा. काशिराज पाण्डे, निकोल उइक ठकुरी र अभिभावकको तर्फबाट डा. छिरिङ लामा लगायतले डिजिटल सन्देश पठाएका थिए ।

गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सन् २००७ मा स्थापना भएको गेट कलेज, इएचएलजस्तो विश्व प्रसिद्ध होटल व्यवस्थापनको विश्वविद्यालयसँग शैक्षिक सम्बद्धता प्राप्त गर्ने एकमात्र नेपाली शैक्षिक प्रतिष्ठान भएको उल्लेख गर्दै हालसम्म गेट कलेजबाट देशका प्रायः सबै जिल्ला र विश्वका २० मुलुकका ४ हजारभन्दा बढी विद्यार्थीले शिक्षा प्राप्त गरिसकेको जानकारी दिए ।

कार्यक्रममा ब्याच २१ र २२ का विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै डीन मेरिट अवार्ड, गेट गुडविल एम्बेसडर, बेस्ट थेसिस अवार्ड र गेट स्टुडेन्ट आइकनलगायतका विभिन्न शीर्षकमा उत्कृष्ठता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरियो भने गेट कलेजद्वारा प्रकासित सेफ देवीभक्त शिवाकोटीद्वारा लिखिति ‘बेकरी बुक’ पनि लोकार्पण गरिएको थियो ।

गेट कलेजले स्थापनाकालदेखि नै होटलरी सुइस र ईएचएल परिवारभित्र रही सन् २००७ देखि नेपालमा स्विस मोडल आधारित आतिथ्य शिक्षा प्रदान गर्दै आएको छ । इएचएल पर्यटन तथा होटल शिक्षामा विश्वमै पहिलो स्थानमा रहँदै आएको विश्व प्रसिद्ध शैक्षिक प्रतिष्ठान हो ।



प्रतिक्रिया दिनुहोस !