५ जेष्ठ २०८१, शनिबार

सबभन्दा बढी खर्च गर्न सक्ने सरकारलाई बढी बजेट दिइन्छ : अर्थमन्त्री शर्मा

प्रकाशित मिति :  28 January, 2022 4:56 pm


काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सबभन्दा बढी खर्च गर्न सक्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।

आज अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा मन्त्री शर्माले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् ।

“सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु”, उनले भने,“यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौँ ।”

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला तहका सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानुपर्नेमा जोड दिए ।

संघीयता बलियो बनाउन असल कामको अङ्गिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनको भनाई थियो । त्यस्तै प्रदेश सरकारका मागहरूलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने विश्वास दिलाए ।

“जे जति अहिले बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ”, उनले भने, ‘तपाईँहरूले उठाउनुभएका विषय बारे थप योजना आयोग, राष्ट्र बैंकलगायतसँग बसेर थप छलफल गर्नेछौँ ।”



प्रतिक्रिया दिनुहोस !