२० बैशाख २०८१, बिहिबार

तत्काल दूूधको मूल्यवृद्धि गर्न दुग्ध सहकारी संघको माग, ढिलासुस्ती गरिए आन्दोलन गर्ने चेतावनी

प्रकाशित मिति :  28 January, 2022 6:02 pm


काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मुल्य बढाउन सरकारलाई आग्रह गरेको छ । संघले तत्काल दूधको मूल्यवृद्धि गर्न माग गर्दै अझै ढिलासुस्ती गरिए आन्दोलन गर्ने चेतावनी दिएकाे छ ।

संघका महासचिव राम प्रसाद आचार्यद्वारा शुक्रबार जारी गरिएकाे विज्ञप्तीमा सरोकारवाला निकायले सिफरिस गरे बमोजिम दूधको मूल्य बढाउन आग्रह गरिएकाे हाे । संघले कृषकले उत्पादन गरेको दूधको मूल्य वृद्धि नहुने अवस्था आए कृषकहरु पुनः आन्दोलित हुनुपर्ने अवस्था आउने चेतावनी दिएकाे छ ।

गत ३ वर्ष देखि कच्चा दूधको मूल्य वृद्धि हुन नसक्दा पशुवस्तु अनुत्पादक रहनु, मिल्क होलिडे हुनु, कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनु जस्ता कारणहरुले किसान थप मर्कामा परेको संघले जनाएको छ ।

दूधको मूल्य नबढ्दा हाल चलिरहेको फ्लस सिजनमा पनि प्रयाप्त मात्रा दूध उत्पादन नहुँदा बजारमा दूध लगायत दुग्ध जन्य उत्पादन बाह्य मुलुकबाट आयात गर्नु पर्ने अवस्था सृजना भएको भन्दै संघले चिन्ता व्यक्त गरेकाे हाे ।

स्वदेशी समेत बाहिरिने अवस्था आएकाले युवाहरुको आकर्षण रहेको दुग्ध उत्पादन पेशालाई संरक्षण र प्रवद्र्धन गर्दै देशलाई दूग्ध जन्य उत्पादनमा आत्मनिर्भर बनाउनु आवश्यकता रहेको संघको भनाइ छ । पशुहरुलाई खुवाउने पराल, दाना, चोकर, औषधि लगायतको मूल्य अत्याधिक वृद्धि भएकाले कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुगेको संघले जनाएको छ ।

प्रधानमन्त्री शेर देउवाले कृषि तथा पशुपन्छी मन्त्रालयमा दूधको मूल्य वृद्धिबारे यथाशिघ्र कार्य अगाडि बढाउन निर्देशन दिएपछि कृषि तथा पशुपन्छी मन्त्रालयले राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत् कृषकहरुको लागत मूल्य अध्ययन गरी प्रतिवेदन पेश गर्न आव्हान गरेकाे थियाे । बाेर्डले सरोकारवाला, केन्द्रीय दुग्ध सहकारी संघ, प्राइभेट डेरी उद्योग, दुग्ध विकास संस्थान समेतले संयुक्त रुपमा रु १०/- प्रति लिटर मूल्य वृद्धि गर्न सिफारिस गरे पनि मूल्यवृद्धिकाे निर्णय भएकाे छैन ।

संघले अधिराज्यभर रहेका एक हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध ५ लाख कृषक परिवारले उत्पादन गरेको दूध संकलन गरी औपचारिक क्षेत्रमा दैनिक करीब ९ लाख लिटर दूध बजारमा उपलब्ध गराउँदै आएको छ । जसबाट दैनिक ५ करोडको हाराहारीमा शहरको पूँजी गाउँ पु-याउँदै आएको दुग्ध उत्पादक सहकारी संस्थाले गरीब विपन्न किसानहरुको आय आर्जनमा टेवा पु-याउँदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !