१७ बैशाख २०८१, सोमबार

भूमी मन्त्रीकाे जिल्लाबाट सुरू गरियाे जग्गाकाे विशेष नापी

प्रकाशित मिति :  6 March, 2020 9:59 pm


स्याङ्जा, २३ फागुन ।

जग्गाको पुनःनाप नक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले गृह जिल्ला स्याङ्जा जिल्लाको वालिङबाट आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नाप नक्सा कार्यको उद्घाटन गर्नु भएकाे हाे ।

यसअघिकाे नापीमा छुटेका समेतलाइ समेटिने गरि अाधुनिक प्रविधिमा अाधारित पुनः नापी सुरू गरिएकाे हाे । मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको तथा विशेष नापीको सुरूवात गर्दै जग्गाकाे पारदर्शिताकाे लागि पनि पुनः नापी सहयाेग हुने बताउनु भयाे ।

विशेष नापीले हिजोको नापनक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने भनाइ उहाँकाे छ । ”पुनः नापनक्सा हामीले ल्यायौं . जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ, उहाँहरुले राहत पाउनुहुनेछ”, मन्त्री अर्यालले भन्नुभयो, ”हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन्, यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।”
यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताउनुभयो ।

अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताउनुभयो । धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने बताउनुभयो ।

मन्त्रालय अन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडी बढेको उहाँले बताउनुभयो । ‘हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडी बढेका छौ । प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर अब त्यस्तो हुदैन । कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्यालाई पनि समाधान हुदै गएको छ”, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाहरुले सिक्ने बताउनुभयो । जिल्लाभर व्यवस्थित रुपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरुले सहजिकरण गर्नुपर्ने बताउनुभयो । टोटल स्टेशन (टिएस) मेशिनमार्फत अब स्याङ्जामा पुनः नापनक्सा कार्य हुनेछ । मेसिनको प्रयोगमार्फत जग्गाको डिटेलको कोअर्डिनेट तत्कालै दिनसकिने बताइएको छ । यसले करिब ५ देखि ८ किलोमिटर दुरिसम्मको रिडिङ गर्न सक्‍ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिनुभयो ।

१२० जना पुरा दरबन्दी पुरा भएमा ५/६ वर्षको अवधिमा जिल्लाभरको नापनक्सा सम्पन्न गरिसक्‍ने नापी अधिकृत गौतमले जानकारी दिनुभयो ।
विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमुख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्सा हुनेछ । यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ ।

भवनको बारेमा जानकारी दिँदै नापी कार्यालय वालिङका कार्यालय प्रमुख विवेक तिवारीले एक रोपणी चार आना जग्गामा आठ कोठाको पक्की भवन निर्माण गरिएको जानकारी दिनुभयो । कार्यालयमा सेवाग्राहीका लागि अपांगमैत्री शौचालय, प्रतिक्षालय, सबै सेवाग्राहीले बाहिरबाट पनि देख्‍नसक्‍ने कार्यालयका कक्षकहरु लगायतको व्यवस्था गरिएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !