धार्मिक सम्पदाको संरक्षण गरिँदै
रामपुर। रामपुरमा पूराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ ।
ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पाको रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुनःनिर्माण थालिएको छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशालामा २०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । त्यसको पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम भइरहेको छ ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरातत्व विभागको विशेष पहलमा करिब रु तीन करोड ६ लाख ५३ हजारको लागतमा पुनः निर्माणको काम चलिरहेको छ ।
पूरानो धर्मशाला भुइँतलासहित तीनतले ६ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । सोही स्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौदेखि निर्माण भइरहेको छ । विसं २०८० असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउछन् । उनी भन्छन्, “पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठका सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाडौंदेखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौ , पूरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुँदा अनुभवी कामदार परिचालन गरिएको छ” ।
भवन निर्माण सकिएपछि यसलाई संग्रहालयका रुपमा विकास गरिने रेग्मीले जानकारी दिए । गाउँघरमा पहिले चलनचल्तीमा आएका पूराना काठजन्य वस्तुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ । पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा चिनिने गरिन्थ्यो । हाल धर्मशाला जीर्ण अवस्थामा थियो ।रासस








