घरबारविहीन टुहुरा बालकलाई घर हस्तान्तरण
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले घरबारविहीन टुहुरा बालकलाई घर हस्तान्तरण गरेको छ । नगरपालिकाले चापाकोट नगरपलिका–१० भुमरीघाट निवासी बालक राम श्रेष्ठलाई घर हस्तान्त्रण गरेको हो ।
नगरपालिकाले टुहुरा भएका बालकलाई दुईकोठे भुकम्प प्रतिरोधी घर निर्माण गरेर एक कार्यक्रमका बीच घरको चाबी हस्तान्त्रण गरेको हो ।
असार महिनामा हावा हुरीसहितकोवर्षाले कच्ची घर भत्काएपछि निरीक्षणमा पुगेका चापाकोट नगर प्रमुख शिव गिरिले तत्काल घर निर्माण गर्ने प्रतिबद्धता दिएपछि उक्त घर नगरपालिकले ३ लाखको लागतमा निर्माण गरेको हो । नगर प्रमुखसहित स्थानियबासीको उपस्थितिमा हिजो घर हस्तान्त्रण गरिएको नगर प्रमुख गिरिले बताए ।
घर हस्तान्त्रण कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले चापाकोट नगरपालिकामा कोही गरिब, विपन्न तथा टुहुरा नागरिक घरबार बिहिन हुनु नपर्ने बताए । गिरी नेतृत्वको स्थानिय सरकार जनताको आँसु हेरेर बस्न नसक्ने भन्दै आफु नगर प्रमुखको कुर्सिमा रहुन्जेल जनताको सेवामा अनब्रत समर्पित हुने प्रतिवद्धता ब्यक्त गरे ।








