१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार, सामान्य खाना दिन थालियो

प्रकाशित मिति :  7 March, 2020 4:31 pm


काठमाडौ, २४ फागुन । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१ फागुनमा मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री र उनलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमबहादुर खड्गाले शल्यक्रियाको चौथो दिन आजदेखि प्रधानमन्त्रीलाई सामान्य खाना दिन थालिएको जानकारी दिए।

उनले भने, “उहाँलाई सामान्य हिँडडुल गराउन थालिएको छ, फिजियोथेरापीलाई निरन्तरता दिइएको छ। उहाँका भाइटल तथा ल्याब सूचांक सामान्य अवस्थामा छन्।”

कार्यकारी निर्देशक खड्गाले मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि राम्रो सुधार भइरहेको बताए। “उहाँलाई पनि नर्मल खाना दिन थालिएको छ। हिँडडुल गर्न थाल्नुभएको छ। भाइटल र ल्याब सूचांकहरू सामान्य छन्”, उनले भने।

आजको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उपचाररत प्रधानमन्त्री ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले दिएको स्वास्थ्य लाभको सन्देश पनि सुनाएका थिए।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पनि प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएको थापाले जानकारी दिएका थिए।



प्रतिक्रिया दिनुहोस !