ऋण नतिर्ने ऋणी विरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा रौतहटको ‘द साथी तथा ऋण सहकारी’
रौतहट । रौतहटको गौरमा रहेको ‘द साथी तथा ऋण सहकारी संस्था लि’ले पटक पटक ताकेदा गर्दापनि ऋण तिर्न नआउने ऋणी विरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सहकारीले नगरपालिका,जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिएर ऋण तिर्नका लागि बोलाउन लगाउँदा पनि नआएपछि मुद्दा दर्ताका लागि तयारी गरेको हो ।
“पटकपटक आग्रह गर्दापनि ऋण तिर्न नआएपछि मुद्दा दर्ताको तयारी गरिएको छ,” सहकारी स्रोतले भन्यो ।
मूलधन साँवा र ब्याजसमेत नदिई राखेको र आलटाल गरेको भन्दै सहकारीले जिल्ला प्रशासन कार्यालयमा २२ जना विरुद्ध कारबाहीको माग गर्दै गत मंसिरमा निवेदन दिएको थियो । मंसिरमै नगरपालिकामा पनि तिनै २२ जना विरुद्ध कारबाहीको माग गर्दै कारबाहीका लागि सहकारीले निवेदन दिएको थियो ।
निवेदन दिएपछि कतिपयले भने ऋण तिरेका छन् । पटक पटक आग्रह गर्दा र हुलाकबाट पत्र पठाउँदा समेत ऋण लगेका व्यक्ति सम्पर्कमा नआएको भन्दै मुद्दा दर्ता गर्न लागेको सहकारीले बताएको छ ।
“सुरुमा ठूलो रकम लगेका १५/१६ जना विरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ,” संस्थाका एक कर्मचारीले भने ।