रेडपाण्डाको छालासहित रोल्पाका तीन जना पक्राउ

दाङ । रेडपाण्डाको छालासहित रोल्पाका ३ जना पक्राउ परेका छन् । प्रतिबन्धित दुर्लभ बन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला लिएर दाङबाट काठमाडौं लैजादै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं.७ बस्ने ३२ वर्षीय राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने २० वर्षीय रुपक खड्का र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने १९ वर्षीय राम कुमार पुन मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ हुँदै काठमाण्डौंतिर लैजादै गरेका बेला बिशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले उनीहरूलाई हिजो बिहान पक्राउ गरेको हो ।
उनीहरू भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला जस्तो देखिने छाला ५ थान बरामद गरिएको जिल्ला प्रहरी दाङले जनाएको छ ।