राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग

काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । एमसीसी षड्यन्त्रमूलक तरिकाले संसदबाट पारित गरेर पाँचदलीय गठबन्धनले देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्याएको ठहर गर्दै राजमो गठबन्धनबाट अलग भएको हो ।
अध्यक्ष चित्रबहादुर केसीले आज प्रेसवक्तव्य जारी गर्दै गठबन्धनबाट अलग भएको जानकारी गराएका हुन् । राजमो केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको वक्तव्यमा प्रतिगमन विरुद्धको सङ्घर्षमा सही भूमिका खेले पनि पछिल्लो समयमा सार्वभौमिकता र अखण्डताको सवालमा पाँचदलीय गठबन्धनले गलत भूमिका खेलेको उल्लेख छ ।
वक्तव्यमा संसद्मा मतदान नगरी ध्वनिमतबाट एमसीसीबारे निर्णय गरिएकोमा आपत्ति प्रकट गरिएको छ भने गठबन्धनको अर्को दल माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूको आक्रोश मत्थर पार्न नौटङ्की गरिएको उल्लेख छ ।
वक्तव्यमा एमालेको रमिते, गैरजिम्मेवार व्यवहार र प्रकारान्तरले एमसीसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भत्र्सना गरेको उल्लेख छ ।