कांग्रेसले भन्यो,‘एमसीसी नेपालमा आएका विकास सहयोगको मानक बन्ने हाम्रो विश्वास छ’
काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) संझौता नेपालमा आएका विकास सहयोगको मानक बन्ने हाम्रो विश्वास गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर नेपालको विकास प्रयासमा सघाउदै आएका दातृ निकाय तथा मित्र राष्ट्रहरुलाई निरन्तर सहयोगको लागि धन्यवाद दिंदै एमसीसी नेपालमा आएका विकास सहयोगको मानक बन्ने आफ्नो पार्टीको विश्वास रहेको बताए ।
उनले एमसीसी सन्दर्भमा अझै बाँकी भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा नेपाली कांग्रेस निरन्तर लागिरहने समेत बताएका छन् । महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एमसीसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस् । यस सहयोगमार्फत निर्माण हुने आयोजनाहरु गुणस्तरीय रुपमा निर्धारित समयमा निर्माण हुन सकून । यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस् । संसदबाट पारित भएकोले यसको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसदमा पनि आएको छ ।”
एमसीसी संझौता पारित गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अन्य कारणले संसदीय प्रक्रियामा सहभागी हुन नसके पनि एमसीसीको पक्षमा नै रहेको उल्लेख गर्दै प्रवक्ता महतले सो पार्टीका अध्यक्ष र अधिकांश नेताले यसका सन्दर्भमा प्रकट गर्नुभएका विचार र अभिव्यक्तिहरुले यो संझौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न ठूलो सहयोग गरेको बताए ।
कांग्रेसले भनेको छ,“व्याख्यात्मक घोषणासहित एमसीसी संझौता प्रतिनिधि सभाबाट पारित भएकोमा दातृ राष्ट्र संयुक्त राज्य अमेरिकाले समेत स्वागत गरिसकेको छ । अब एमसीसी अनुदान सहयोग अन्तरगतका परियोजनाहरु कार्यान्वयनमा जाने सुनिश्चितता भएको छ ।”








