पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन [फाेटाेसहित]
कम्तिमा १० लाखले दर्शन गर्ने अनुमान

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन गरेका छन् ।
बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए ।
आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उनले बताए ।
महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रह]sf कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । महाशिवरात्रिका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।
फोटो : अनुप आचार्य