स्याङ्जाको छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रिको अवसरमा २५ हजार भक्तजनले गरे दर्शन

स्याङ्जा । प्रसिद्ध छायाँक्षेत्र मन्दिर छाङछाङदीमा महाशिवरात्रिको अवसरमा २५ हजार भक्तजनले मन्दिर दर्शन गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार कोभिड १९ शुरु भएपछि यसपटकको महाशिवरात्रिमा नै मन्दिरमा भक्तजनको उत्साहपुर्ण सहभागिता रहेको हो ।
हिजो विहानैदेखि स्याङ्जासहित पर्वत, पाल्पा, कास्की, बुटवल, पोखरा गरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरूबाट आएका भक्तजनहरुको मन्दिर दर्शन तथा स्नान गरेका हुन् ।
शिवरात्रिका अवसरमा ७ लाख ५४ हजार ४ सय ९९ रुपैँया मन्दिरले वचत गरेको छ । आर्थिक उपसमितिका संयोजक शोभाकान्त पौडेलका अनुसार खर्च कटाएर उक्त रकम वचत भएको हो ।
जसमा सहयोग रसिदबाट ९५ हजार २ सय २३, आजिवन सदस्यबाट २८ हजार ११६, दु्रत सेवाबाट ४ लाख २३ हजार ७५०, विभिन्न स्टल बिक्रीबाट ६६ हजार २ सय ८०, पार्किङबाट ९ हजार, दानपेटिबाट ५६ हजार, भजनमण्डलीबाट ७६ हजार १२० रुपैँया आर्थिक संकलन भएको छ ।
मन्दिरमा संकलित भेटी तथा मेलाबाट संकलित रकमले मन्दिर परिसरमा भौतिक निर्माण तथा मन्दिर व्यवस्थापनमा खर्च गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।