९ पुस २०८२, बुधबार

भक्तपुरमा ‘एनाईन चिप’ प्रविधियुक्त ‘सुविधा’ स्यानिटरी प्याड उत्पादन सुरु

प्रकाशित मिति :  3 March, 2022 7:18 am


लक्ष्मी ज्ञवाली-

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा एनाईन चिप प्रविधियुक्त स्यानिटरी प्याडको उत्पादन सुरु भएको छ । महिला उद्यमी शिला अधिकारी पौडेल प्रोप्राइटर रहेको सुविधा स्यानिटरी उद्योगले सुविधा ब्राण्डको प्याडको उत्पादन सुरु गरेको हो । 

“स्यानिटरी प्याड उत्पादनमा प्रयोग हुने एनाईन चिप प्रविधिबाट बनेको स्यानिटरी प्याडमा नेगेटिभ आयन युक्त एनाईन चिप राखिएको हुन्छ,” प्रोप्राइटर पौडेलले भनिन्, “जसले ब्याक्टेरिया, फङ्गस र भाईरस जन्य समस्यालाई निराकरण गर्नुका साथै महिनावरीमा हुने गडवडी निराकरण, इम्युनिटीमा सुधार, रक्त संचारमा सुधार तथा मेटाबोलिक क्रियाकलापलाई बढाउछ भन्ने अनुसन्धानहरुबाट देखिएको छ।”

किसोरी तथा महिलामा महिनावारीको समयमा हुने रक्तश्रावलाई सहज व्यवस्थापन गराउने तथा स्यानिटरी प्याडको आयातमा बाहिरिने ठुलो धनराशीमा कमि ल्याउने उद्देश्यले उद्योग संचालमा ल्याएको उनले बताइन् । 

उद्योग भक्तपुर जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा गत वर्षको चैतमा दर्ता गरिएको हो । सुर्यविनायक नगरपालिकाको वडा नम्बर ५ स्थित ऊँशान्ती टोलमा स्थापना भएको उद्योगको चालू पूँजी २५ लाख र २५ लाख गरी ५० लाख रुपैया लगानी गरिएको छ । 

उद्योगमा सबै कामदार महिला राखिएको छ । उद्योगले १५ देखि २० जना महिलालाई प्रत्यक्ष रोजगारी दिने भएको छ । 

यस स्यानिटरी प्याड उद्योगमा भारतको राजस्थान स्थित उदयपुर जिल्लामा रहेको सेहनाज इन्टरप्राईजेजमा बनेको पुर्ण स्वचालित मेसिन प्रयोग भएको छ।मेसिनको बार्षिक प्याड उत्पादन क्षमता ४० देखि ५० लाख थान रहेको तथा यसमा विकिरणको माध्यामबाट स्टेरिलाइज गर्ने उच्च प्रविधि जडान भएको छ ।

उद्योगमा एक्सएल र एक्सएक्सएल साइजका प्याडहरु उत्पादन हुने गरेका छन् । ८ वटा प्याड रहने एक प्याकको खुद्रा मुल्य रु ७५ तथा थोक मुल्य रु ६० राखि बजारमा बिक्रि वितरण सुरु गरिएको छ । 

“हाल सम्म उपभोक्ताहरुबाट असाध्यै राम्रो भनि प्रतिक्रिया पाएका छौं,” पौडेले भनिन् । उद्योगमा लाग्ने कच्चा पदार्थ हाल भारतबाट ल्याईएको छ । भारतबाट कच्चा पदार्थ किन्दा चाइनाको तुलना २ देखि ४ गुणा सम्म महङ्गो हुने देखिएकाले चाइनाबाट ल्याउन पहल भै रहेको उनले बताइन् । 

नेपाल सरकारले स्यानिटरी प्याड उद्योगले प्रयोग गर्ने केही कच्चा पदार्थमा ५ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरे पनि भन्सार विन्दुमा नै थप १३ प्रतिशत भ्याट तिर्नु पर्ने बाध्यताले लागत मूल्य कम गर्न चुनौति थपिएको पौडेलले बताइन् । 

सरकाले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने नीति सहज कार्यान्वयन गरेमा आफू जस्ता महिलाहरु उद्यम गर्न उत्साहित उनले उनको भनाइ छ । 

 



प्रतिक्रिया दिनुहोस !