आज ग्याल्पो ल्होसार मनाइँदै

काठमाडौं। आज ग्याल्पो ल्होसार । नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि यसदिनलाई पर्वका रुपमा मनाउँदै आएका पाइन्छ।
‘भोट(बर्मेली) भाषाहरूको शाब्दिक अर्थमा “लो” वा “ल्हो” भनेको वर्ष र सार भनेको नयाँ हो । ग्याल्पो भनेको राजा हो । यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ । कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ ।
बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ ।
नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन् । तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायले ल्होसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ ।
भारत, जापान, चीन,हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड आदि मुलुकमा पनि लोसार मनाउने गरिन्छ । अहिले सांस्कृतिक घुलमिलका कारण कतिपय अन्य जातिहरूले पनि मनाउने गर्दछन् ।