पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगम भन्छ अझै ‘घाटा’ छ
प्रकाशित मिति : 4 March, 2022 7:38 am

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ ।
यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
निगमले मूल्यवृद्धि भएता पनि निमग घाटामै रहेको बताएको छ । पेट्रोलमा अझै पनि १६ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ घाटा रहेको जनाएको छ ।