वैष्णव परिषद् नेपालको महाधिवेशन चैतमा

काठमाडौं । निम्वार्क वैष्णव परिषद् नेपालको पाँचौ महाधिवेशन आगामी चैतमा हुने भएको छ ।
आगामी चैत ६ देखि ८ गतेसम्म स्याङ्जा जिल्लाको केलादीघाटस्थित राधा दामोदर मन्दिरमा महाधिवेशन सम्पन्न हुने परिषद्ले जनाएको छ ।
महाधिवेशनको मूल उद्देश्य निम्वार्क वैष्णव सम्प्रदायका अनुयायी एवं साधकहरुलाई नेपालमा युग अनुकूल संगठित गर्नु, वैदिक सनातन धर्मका विभिन्न शाखा एवं सम्प्रायसँग सामञ्जस्यता कायम गरी सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय को भाव पुनर्जागृत गराउनु रहेको आयोजकले जनाएका छन् ।
वैष्णव भक्तिसाधना र भेदाभेद दर्शनको पृष्ठभूमिमा धार्मिक, सांस्कृतिक र आध्यात्मिक जागरण ल्याउन परिषद्ले कार्य गर्दै आएको छ ।
वैष्णव भूषण गोलोकवासी श्रीभगवच्छरण देवाचार्य महाराजले सर्वप्रथम श्रीकृष्ण गण्डकीको तट केलादीघाटमा नेपालमा वैष्णव अहिंसा धर्मको प्रचारप्रसार गरेका थिए । यसै स्थानलाई वैदिक सनातन निम्वार्क वैष्णव सम्प्रदाय किंवा वैदिक सनातन धर्म अनुयायीहरुको आस्था, विश्वास र भरोसाको प्रमुख केन्द्र मानिएको छ ।
महाधिवेशनले वैदिक सनातन धर्म संस्कार किंवा संस्कृतिप्रति निष्ठवान, परोपकारशील, जनहितप्रति प्रेरित र समर्पित समाज निर्माणका लागि शान्ति, भक्तिसाधना, भ्रातृत्व अभिवृद्धि गर्नु, अहिंसा धर्म संस्कृतिको विकास, निम्वार्क वैष्णव भक्ति साधना तथा भेदाभेद दर्शनको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने आयोजकको भनाइ छ ।
महाधिवेशनले निम्वार्क वैष्णव परिषद् नेपालका लागि संस्थागत नीति तथा कार्यक्रम पारित गर्नेछ । महधिवेशनले यस सम्प्रदायलाई जनजनमा पुरयाई वैष्णव समाजमा युवा तथा नारी जागरण ल्याउन संस्थाको विधान अनुसार मातृशक्ति परिषद् तथा युवाशक्ति केन्द्रीय समिति गठन गर्नेछ ।