२९ बैशाख २०८२, सोमबार

सरकारमा सहभागी भएका दल मिलेरै चुनावमा जान्छौं : देउवा

प्रकाशित मिति :  10 March, 2022 2:57 pm



पर्सा । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने प्रष्ट पारेका छन् ।

नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनसँग मिलेर निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएको बताए ।

चुनावीमा सहकार्य गर्नेबारे गठबन्धन दलहरुसँग छलफल चलिरहेको उनको भनाई थियो । पार्टीभित्रै चुनावमा एक्लै जान माग उठिरहेका बेला सभापति देउवाले गठबन्धनसँग सहकार्य गर्ने प्रष्ट पारेका हुन् ।

२०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्मरण गर्न सभापति देउवाले आग्रह गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे ।

एमसिसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने उनको विश्वास थियो ।

सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !