१३ बैशाख २०८१, बिहिबार

गुरिल्ला ट्रेकिङ रुट कस्ताे छ ?

प्रकाशित मिति :  14 March, 2022 4:14 pm



नेपालमा चलेको दशक लामो द्वन्द्वलाई पर्यटनसँग जोड्ने उद्देश्य राखेर केही वर्ष अघिबाट गुरिल्ला ट्रेकिङ अवधारणा अघि सारिएको छ ।

रोल्पाको जेलबाङबाट सुरूवात गरेर रोल्पाकै जलजला, थबाङ पूूर्वी रुकुमको भूूमे गाउँपालिकाको महत गाउँ, लुकुम क्युबाङ तकसेरा हुँदै हुकाम, खाराबाङ रन्मामैकोटलगायतका गाउँहरू यस गुरिल्ला पदमार्गका मुख्य आकर्षक गन्तव्य हुन् । यी गाउँका बस्ती संरचना निकै लोभलाग्दा छन् । सबै गाउँको आ–आफ्नै विशेषता छ ।

गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ ।

गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको वेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारेमा शिक्षासमेत पर्यटकलाई दिने गर्दछ ।

अहिले यो गुरिल्ला पदयात्रामा नेपाली मात्र होइन विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्रका विद्यार्थीका लागि अध्ययन, अनुसन्धान र खोज गर्नका लागि गुरिल्ला पदमार्ग गन्तव्य भएको छ ।

रुकुम र रोल्पाका मगर संस्कृतिको ऐतिहासिक सहिद गाउँ जेलबाङ, इतिहासिक राजनीतिको चर्चामा रहने थबाङ गाउँ,
रुकुमको पिपलटुङ मेलगैरीमा माओवादी युद्धकालको पहिलो सामूहिक हत्याकाण्ड भएको, प्रहरीले २०५२ फागुन १५ गते एकैदिन ६ जनाको हत्या गरेको थियो ।

रोल्पाको जेलबाङमा २०५३ साउनमा २३ गते डोढेबारीमा ५ जनाको चर्मयातना दिए सामूूहिक हत्याकान्ड गरेको थियो । किलोसेरा टु अप्रेसनका क्रममा प्रहरीले हेलिकप्टर ल्यान्ड गरेर पटकपटक अप्रेसन गरेको गाउँ हो, रुकुम पूूर्वको पेल्मा गाउँ लगायत रन्मा मैकोट माओवादी आधार इलाकामा पर्छ । डोल्पाको सदरमुकाम दुनै आक्रमण गर्दा माओवादीले यहींबाट तयारी गरेर गएका थिए । डोल्पा यार्चागुम्बु टिप्न जाने सवालमा पनि मैकोट चर्चित छ । यार्चा टिप्न जाने भएकाले वैशाख–जेठमा यहाँका सबैजसो घर खाली हुन्छन् ।

अध्ययन तथा अवलोकनका लागि ढोरपाटन शिकार आरक्ष, यार्सागुम्बा पाइने बुकिपाटनदेखि रुकुमकोटसम्म पर्यटक पुग्ने गरेका छन् । प्राकृतिक महत्वका सम्पदाका कारण अहिले रोल्पा र रुकुममा पर्यटक घुमघामका लागि जाने पर्यटकको संख्या क्रमशः वृद्धि हुन थालेको छ ।

रोल्पा र रुकुममा युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङका कारणले पनि आजभोलि धेरै पर्यटक पुग्ने गरेका छन् । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेष अब पर्यटकीयस्थल बनेका छन् । गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनका लागिसमेत उपयोगी छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेषसमेत पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् ।

त्यसैगरी रोल्पाको जलजलाबाट र तकसेरा मैकोटका पर्वत ठाँउबाट देखिने उत्तरतर्फका हिमाल, पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, नीलगिरि, अन्नपूूर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । रन्माको सुनदह ढोरपाटनबाट हिमालमात्र होइन, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकलाई आकर्षण गराउँछ । गुरिल्ला पदमार्ग गाउँठाउँको भ्रमणबाट धेरै किसिमका कुरा सिक्न र जान्न पाइन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाको पहिचान गर्न सकिन्छ । त्यसैले होला भ्रमणलाई खुल्ला विश्वविद्यालय पनि भन्ने गरिन्छ ।

विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटक भेटिएका छन् । पर्यटकलाई गाउँमा बासको राम्रो व्यवस्था छ भने स्थानीयबासीको आतिथ्यतासमेत पर्यटकलाई हुने गर्दछ ।

गुरिल्ला ट्रेकिङका रुट

गुरिल्ला ट्रेकिङका लागि पर्यटन बोर्ड, हिमालयन म्याप हावस प्रालिबाट तयार पारिएको छ । १४, १९ र २७ दिनको यात्राका लागि रुट तय गरिएका छन् । कम समय हुने र मुख्य मुख्य ठाउँ मात्र हेर्नेका लागि १४ दिन, विस्तृत रूपमा युद्धस्थल हेर्नेका लागि १९ दिन र प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्वका स्थल हेर्ने गरी पर्याप्त समय हुनेका लागि २७ दिनको रुट तयार पारिएको छ ।

विदेश या राजधानीबाट आउने पर्यटकका लागि सबै रुट पोखराबाट सुरु गरिएको छ । अन्य पर्यटकका लागि भने दाङबाट सल्यान या रोल्पा हुँदै छोटा रुट प्रयोग गर्न सकिन्छ । राजधानीबाट आउँदा पहिलो दिन पोखरा पुगेर म्याग्दीको बेनीसम्म पुग्न सकिने योजना बनाइएको छ ।

पोखराबाट करिब पाँच घण्टाको बस यात्राबाट बेनी पुग्न सकिन्छ । बेनी पनि माओवादी आक्रमणमा परेको महत्वपूर्णस्थल भएकाले यहाँको छोटो अध्ययन गर्न सकिन्छ । २०६० चैत ७ गते करिब ६ हजार माओवादी बेनीमा उत्रिएका थिए । आक्रमणमा २० प्रहरी र १ सय बढी माओवादीको ज्यान गएको थियो ।

बेनीबाट केही समय गाडी चढ्न सकिने सुविधा भए पनि खुलारूपमा अवलोकन गर्न त्यहींबाट पैदल यात्रा सुरु हुन्छ । दोस्रो दिन म्याग्दीकै दर्बाङसम्मको यात्रा तय गरिएको छ । म्याग्दी नदीको किनारैकिनार करिब ८ घण्टाको पैदल यात्रा हिँडेर बाबियाचौर हुँदै दर्बाङ पुग्न सकिन्छ । बाटोमा तातोपानीको मजा लिन सकिन्छ । तेस्रो दिन दर्बाङबाट तकामसम्मको यात्रा गर्न सकिन्छ । यस क्रममा धौलागिरि क्षेत्रको सुन्दर दृश्य देख्न सकिन्छ । चौथो दिन तकामबाट मोरेनी, पाँचौ दिन मोरेनीबाट गुर्जाघाट र छैठौं दिन ढोरपाटन पुग्न सकिन्छ । यहाँ ढोरपाटन शिकार आरक्षणको अवलोकन गरेर प्रकृतिको आनन्द लिन सकिन्छ ।

सातौं दिनदेखि रुटहरू फरक फरक हुन्छन् । १४ दिनको यात्राका लागि निसेल्धोरतिर लाग्नुपर्छ भने १९ र २७ दिनका लागि थांकुरतिर जानुपर्छ । १४ दिने यात्राका लागि आठौं दिन रुकुमको तक, नवौं दिन लुकुम, १०औं दिन रोल्पाको थबाङ, एघारौं दिन सुल्कुबाङ्ग या माझीबाङ्ग, बाह्रौं दिन जेलबाङ, तेह्रौं दिन सुलिचौर र चौधौं दिन सुलिचौरबाट गाडी चढेर काठमाडांै फर्कन सकिन्छ ।

द्वन्द्वको समयमा विद्रोहीहरूको रुट, बासस्थान (सेल्टर), तालिमस्थल, भिडन्तस्थल, कब्जा गरिएका भग्नावशेष क्याम्प, सामूहिक समाधीस्थल, युद्धको पीडा प्रत्यक्ष भोगेका जनतासँगको साक्षात्कार, युद्धमा सहभागी सैन्य दस्ताका अनुभव र अनुभूति, उनीहरूको वर्तमान जीवनशैली आदिबारे थाहा पाउन युद्ध पर्यटकलाई सजिलो होस् भनेर यो गुरिल्ला ट्रेकको अवधारणा र नक्सा तयार गरिएको छ ।

यसरी सो रुट प्रयोग गरेर युद्ध पर्यटनको मनोरन्जन र ज्ञान लिन सकिन्छ गुरिल्ला पदयात्राको ।



प्रतिक्रिया दिनुहोस !