किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
काठमाडौँ । किसानले आफूहरुले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् । बजारमा केराको मूल्य आकाशिएको बेला नेपाल केरा उत्पादक महासंघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुले केराको मूल्य बढाउन काम नगरेको स्पष्टिकरण दिएका हुन् ।
महासंघका अध्यक्ष विष्णहरि पन्तले विचौलियाहरुले केराको मूल्य वृद्धि गरेको भन्दै तत्काल अनुगमन गर्न सरकारसँग माग समेत गरे । उनले बजारमा केराको अभाव भने रहेको स्विकार गरे । किसानले भने त्यसको मूल्य नबढाएको महासंघले जनाएको छ ।
अध्यक्ष पन्तले भने, “राज्यको निकायबाट अनुगमन गरेर यो मूल्य किसानले साँच्चै बढाएको छ कि ? कतै बजारले नै चलखेल गरेको छ कि ? उहाँहरु सबैसँग बिल हुन्छ । र, त्यो किसानसँग प्रत्यक्ष सम्पर्कं गरेर उहाँहरुले होलसेलर वा कोसँग लिएर आउनु भयो ।”
सरकारले अनुगमन गर्नुपर्ने धारणा उनले राखे । पन्तले थपे, “तर म यति भन्नसक्छु कि किसानको तर्फबाट किसानको तर्फबाट मूल्य बढेको छैन भनेर म प्रतिवद्धता जनाउन चाहन्छु । अहिले बजारमा करिव ८० हजार मेट्रिक टन केरा चाहिन्छ । तर करिव ६० हजार मेट्रिक टन हाम्रो उत्पादन छ । साउन पछाडि केराको अभाव हुने छैन । किसानहरुले पर्याप्त उत्पादन गर्नेछन् ।”
महासंघले केराको न्युनतम समर्थन मूल्य निर्धारण गर्न पनि सरकारलाई सचेत गराएको छ । महासंघका अध्यक्ष पन्तले हाल बजारमा केरा माग अनुसार उपलब्ध नभएपनि आगामी साउनबाट सो समस्या नहुने जिकिर गरे ।
–न्युज एजेन्सी नेपाल








