१७ बैशाख २०८१, सोमबार

पुष्प मेलाको तेस्रो दिन लक्ष्यभन्दा बढीको कारोबार

प्रकाशित मिति :  26 March, 2022 9:06 pm


काठमाडौं । जावलाखेलको खेल मैदानमा जारी २३ औं पुष्प मेलाको तेस्रो दिनसम्म ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो । मेलाको दोस्रो दिन अर्थात चैत ११ गते ११ हजार जनाले अवलोकन गर्दा २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको एशोसिएशनका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए ।

शनिवार भएको कारणले अरु दिनको तुलनामा बिहानैदेखि अवलोकनकर्ताको चाप बढेको र त्यही अनुसार कारोबार पनि बढेको पोख्रेलले बताए । एशोसिएशनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपियाँ बराबारको कारोबार हुने लक्ष्य थियो । तर मेलाको एक दिन अगावै लक्ष्यभन्दा बढी कारोबार भइसकको मेला एशोसिएसनले जनाएको छ ।

भोलीसम्म चल्ने सो मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ता मेला भ्रमण गर्न आउने अनुमान आफूहरुले गरेको एशोसिएसनले जनाएको छ । कोभिडपछि यो पहिलो मेला भएको कारण मेला अवलोकनकर्ताको संख्या बढेको हो ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै देखिएको उनले बताए । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरु आएका थिए ।

मेलामा ५१ वटा विभिन्न स्टलहरु रहेका छन् । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु रहेका छन् । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको उनले जानकारी गराए ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेलामा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछी बिकास मन्त्रालय र कृषि विभागको पनि सहयोग रहेको छ ।



प्रतिक्रिया दिनुहोस !