२० बैशाख २०८१, बिहिबार

२३ औँ फ्लोरा एक्स्पो: ४७ हजार भन्दा बढीले अवलोकन गर्दा एक करोड बढीको कारोबार

प्रकाशित मिति :  27 March, 2022 10:23 pm


काठमाडौँ । जावलाखेलको खेल मैदानमा चार दिनदेखि जारी २३ औं पुष्प मेलामा सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल( फ्यान) को आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलाबाट पुष्प व्यवसायीहरुले एक करोड दुई लाख ८० हजार रुपियाँको कारोबार गरेका छन् भने सो मेलालाई ४७ हजार ३०० जनाले अवलोकन गरेको फ्यानका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए ।

फ्यानले लिएको लक्ष्यभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरेका छन् भने लिएको लक्ष्यभन्दा बढी कारोबार भएको छ । यो मेलालाई ४५ हजार जनाले अवलोकन गर्ने तथा ७५ लाख रुपियाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो । तर लक्ष्य भन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरे भने कारोबार पनि लक्ष्यभन्दा बढी हुँदा फ्यान उत्साहित भएको छ ।

मेलाको पहिलो दिन २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो भने आठ हजार २०० जनाले अवलोकन गरेका थिए । चैत ११ गते अर्थात दोस्रो दिन २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो भने ११ हजार जनाले अवलोकन गरेका थिए । तेस्रो दिन ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको थियो भने १७ हजार ८०० जनाले अवलोकन गरेका थिए । मेलाको अन्तिम दिन आज १८ लाख ५० हजार रुपियाँको कारोबार भयो भने १० हजार ५०० जनाले अवलोकन गरेको फ्यानका महासचिव पोखरेलले जानकारी दिए।

चार दिनमध्ये सबभनन्दा बढी कारोबार शनिवार भएको थियो । बिदाका दिन परेका हुनाले विद्यार्थी, कर्मचारीलगायत अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । यस खालको मेला वा प्रदर्शनीले फूल तथा अन्य बोट विरुवाको प्रचार प्रसार हुनुको साथै अध्ययन अनुसन्धानको काम पनि हुने गरेको पोख्रेलले बताए । यो मेलामा कृषि विभाग र बागमती प्रदेशका कृषि मन्त्रालयको आर्थिक सहयोग थियो भने मेलाको सहआयोजक पुष्प विकास केन्द्र गोदावरी थियो ।

फ्यानको कोरोनापछि यो पहिलो मेला हो । मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको पोखरेलले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि बिक्री समेत विगतका तुलनामा बढेको व्यवसायी बताउछन् ।

मेलामा ५१ वटा विभिन्न स्टलहरु राखेका थिए । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु रहेका थिए । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !