टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्रमा तनाव
काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्रमा यतिबेला तनाव सिर्जना भएको छ ।
वर्ल्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि घिसिङ र श्रेया घिसिङलाई बुधबार स्कुल जाँदै गर्दा बिहान ८ः३० बजे टिपरले ठक्कर दिँदा ज्यान गएको थियो ।
बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरुले टिपरमा आगजनीसमेत गरेका छन्। अहिले उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। स्थितिलाई नियन्त्रण लिन प्रहरीले स्थानीयमाथि अश्रुग्यास समेत प्रहार गरेको छ।
मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा बा. ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








