१६ चैत्र २०८०, शुक्रबार

रू. २ करोड लगानीमा सामूहिक शीतभण्डार निर्माण गर्दै डेरी उद्योग संघ

प्रकाशित मिति :  30 March, 2022 5:49 pm


काठमाडौं । कोरोना महामारीमा दूधजन्य उत्पादनको भण्डारणमा समस्या झेलेका व्यवसायीले सामूहिक रुपमा शीतभण्डार(कोल्डस्टोर) निर्माण गर्ने भएका छन् ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान सहयोग र डेरी व्यवसायीको लगानीमा चितवनस्थित चितवन मिल्क लिमिटेडको जग्गामा शीतभण्डार निर्माण कार्य अगाडी बढेको हो ।

डेरी व्यवसायीको छाता संगठनका रुपमा रहेको डेरी उद्योग संघले शीतभण्डार निर्माणका लागि गत फागुन ३ गते बोलपत्र जारी गरेको थियो । उक्त बोलपत्रबाट तोकिएको कागजपत्र र न्यूनतम मुल्याङ्कित सारभूत रुपमा प्रभावग्राही रहेको भन्दै संघले एअर फ्लो इण्डष्ट्रिज प्रा.लि. कपन काठमाडौंले पेश गरेको मुल्य अभिवृद्धी कर समेत रु १ करोड ४९ लाख ४० हजार नौ सय ४८ रुपैँया १४ पैसा को बोलपत्र स्वीकृत गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

“हामीले कोरोना महामारीमा भण्डारण गर्न कोल्डस्टोर नपाउदा झण्डै व्यसाय नै डुब्ने अवस्थामा पुगेनौँ,” अध्यक्ष दाहालले भने, “संगठन भित्रका सम्पूर्ण साथीहरुको संयुक्त प्रयासमा निर्माण हुन लागेको कोल्डस्टोरले व्यवसायीलाई भण्डारणका लागि राहात पुग्ने छ ।”

डेरी उद्योग संघको नेतृत्वमा शीतभण्डार निर्माण हुन लागे पनि संगठनमा नरहेका व्यवसायीले पनि उत्पादन गरेका सामाग्री स्टोर गर्न सक्ने दाहालले जानकारी दिए ।

डेरी उद्योग संघको नेतृत्वमा बन्ने शीतभण्डारको कुल लागत दुई करोड रहेको डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । चार महिनामा निर्माण सम्मन्न हुने शीतभण्डारमा सात टनका नौ वटा र १५ टनका दुई वटा भण्डार गर्ने स्टोर रहने राजभण्डारीले बताए ।

“यो एउटा सामूहिक योजनाका रुपमा अगाडी बढाइएको नमुना परियोजना हो,” राजभण्डारीले भने, “यसबाट अन्य व्यवसायी साथीहरुलाई पनि उर्जा मिल्नेछ । यस्ता कोल्ड स्टोर क्रमिक रुपमा बढाउदै लैजाने योजना छ ।”



प्रतिक्रिया दिनुहोस !