थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त
काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।
भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए ।
सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष नियुक्त गरेको थियो । अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ ।
जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १(१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई विघटन गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरिएको थियो । भदौ २९ मा गठन गरिएको आयोगको केन्द्रमा सत्तारुढ दलले भागवण्डामा पदाधिकारी चयन गरेका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।









