ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी छन् ।
जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो । एक्सपो तीन दिनसम्म सञ्चालन हुने छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गरिन् ।
राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गरिन् । अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उनले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेकामा जोड दिइन् ।
जलवायु परिवर्तनका कारण हिमालमा हिउँको मात्रा घट्दै जानु चिन्ताजनक विषय भएको तथ्य पेस गर्दै राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन तथा हरियाली प्रवद्र्धनमा जोड दिन सबैको ध्यानकर्षण गराइन् । राष्ट्रपति भण्डारीले जलस्रोतको बहुउद्देश्यीय प्रयोग हर्दै हरित अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
एकै पटक ठूलो लगानी लाग्ने र उत्पादनको अवधिसम्म प्रतिफल प्राप्त हुन गाह्रो हुने भएकाले साना तथा मझौला आयोजनामा निजी क्षेत्रले हात हालेको तथा त्यसमा उल्लेखनीय सफलता हासिल गरेकामा राष्ट्रपतिले ऊर्जा उद्यमीको भूमिका महत्वपूर्ण रहेको उनकाे भनाइ थियाे ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिए ।
देशकै सबैभन्दा ठूलो भनिएको हाडड्रो एक्स्पोमा विभिन्न विषय वस्तुमा तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञका बीचमा छलफल गर्ने कार्यक्रम तय भएको सो अवसरमा जानकारी दिइयो । आज मात्रै जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफलको आयोजना गरिएको छ ।








