७ पुस २०८२, सोमबार

आजदेखि पेट्रोलियम पदार्थ बिक्री वितरण सहज

प्रकाशित मिति :  3 April, 2022 8:58 am


काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेपछि आजदेखि वितरण सहज हुने भएको छ । व्यवसायीको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरी आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने जनाएको छ।

व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !