बलेफी हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझसम्ममा करिब १८ लाख ७१ हजार आवेदनबाट २ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड १२ कित्ता शेयरको लागि आवेदन परेको छ।
कम्पनीले चैत १६ गते बुधबारदेखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयरको लागि सर्वसाधारणका लागि आवेदन निष्कासन गरेको हो ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता एनएमबी, सनराईज, हिमालयन र कुमारी क्यापिटल रहेका छन् ।
कम्पनीले निष्काशन गर्न गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउछ ।








