लुम्बिनी प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट, एम सेक्युरिटी प्रथम
बुटवल । प्रदेश स्तरीय दोस्रो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ ।
हिजो बुटवल सिटी सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा आईडियाहरू सहभागी भएका थिए ।
फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा २० ओटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरूले आफ्नो व्यवसाय तथा आईडिया प्रस्तुत गरेका थिए ।
जसमध्ये पाँचओटा कम्पनी तथा आईडियाहरू ईबाइक, फूड अन वेज, श्री सिता बाबा मल्टि टेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन् ।
सो प्रतिस्पर्धामा फरिद डट कमको एम सेक्युरिटी प्रथम भएको छ । प्रथम भएको कम्पनी सात्विक न्युट्रिन्ट्सले राष्ट्र्रिय वाणिज्य बैंकबाट १५ लाखको ऋण अनुदान प्राप्त गर्नेछ ।
सेसनमा बुटवलका टेक उद्यमी तथा योङ माईण्ड्सका एमडी डा. अभिजित गुप्ता, तथा युवा स्टार्टअप व्यवसायी प्रकाश न्यौपानेले प्रदर्शनीमा सहभागी स्टार्टअपहरुलाई मेन्टरसिप प्रदान गरेका थिए ।
साथै गण्डकी प्रदेशबाट थालनी भएको प्रदेश स्तरीय सम्वाद दोस्रो ‘डिजिटल लुम्बिनी संवाद’ पनि सम्पन्न भएको छ ।
संवादमा लुम्बिनी प्रदेशको प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष बाम देव शर्मा, देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, लुम्बिनी प्रदेश सरकारका आईसीटी विज्ञ रेग बहादुर भण्डारी, बुटवलका अग्रणी आईटी व्यक्तित्व दुर्गा प्रसाद पाण्डे र पाइला टेक्नोलोजीका सहसंस्थापक तथा ईडी आयुष कसाजु उपस्थित थिए ।








