५ जेष्ठ २०८१, शनिबार

वैशाख २ गतेदेखि सिवाईसी नेपाल लघुवित्तले आइपीओ जारी गर्ने

प्रकाशित मिति :  7 April, 2022 12:35 pm


काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । संस्थाले आउँदो वैशाख २ गतेदेखि ४ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैययाँ दरका ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयरको बिक्री खुला गर्ने भएको हो ।

कुल निष्काशित सेयर (३ लाख ९५ हजार ३३६ कित्ता) मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त आईपीओमा सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेडको मेरोसेयर मोबाइल एप तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

साथै धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मर्फत पनि आवेदन दिन सकिने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले आइपीओ जारी पश्चात चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !