कानुन मन्त्रीमा गोविन्द बन्दी,उद्योग मन्त्रीमा दिलेन्द्रप्रसाद बढू नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दिलेन्द्र प्रसाद बढूलाई नियुक्त गरेका हुन् ।
संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् । नेकपा एकीकृत समाजवादीनिकट बन्दीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए ।
दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै देउवाले मन्त्री परिषद् विस्तार गर्दै नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका बडू अब भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा तानिएका छन् ।









