राष्ट्र बैंकले रोकेको खाता फुकुवा गर्न दलालमार्फत ३ करोड रुपैयाँ माग गरियो : व्यावसायी शाह
काठमाडौं । व्यावसायी पृथ्वीबहादुर शाहले आफ्नो रोक्का भएको रकम फुकुवा गर्न ३ करोड रुपैयाँ माग गरिएको दाबी गरेका छन् ।
आज पत्रकार सम्मेलन गर्दै शाहले राष्ट्र बैंकका अधिकारीहरूलाई पैसा दिएर काम गरिदिन्छौं भन्दै विभिन्न दलालहरू सम्पर्कमा आएको र रोक्का भएको रकमको २५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ माग गरेको दाबी गरेका हुन् ।
उनले पत्रकार सम्मेलनका क्रममा भने,“सो विषय इन्कार गर्दै कमजोरी भए सम्पूर्ण रकम जफत गर्न चुनौती दिएको थिएँ । सोही कारण यी परिस्थिति सिर्जना भएको जानकारी गराउँदै मलाई न्याय दिन सम्पूर्ण निकायसँग आग्रह गर्दछु ।”
‘अमेरिकाबाट आएको शंकास्पद रु. ४० करोड रकम छुटाउन अर्थमन्त्री नै सक्रिय’ भन्ने समाचार आएपछि शाहले त्यसको खण्डन गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
उनले रोक्का रकम ४० करोड नभएर १४ करोड मात्रै भएको बताएका छन् । उनले आफ्नो रकम २ वर्षदेखि रोकिएको बताएका छन् ।
शाहका अनुसार उक्त रकम विगत दुई वर्ष बन्दाबन्दी हुनुपूर्वदेखि विभिन्न बैंकहरुमा ट्राभल्स र रेमिट्यान्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले उनको कम्पनीमा रकम पठाएका हुन् ।
उक्त रकमबारे राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सिआइबीमा पठाइएको थियो । सिआइबीको अनुसन्धानबाट केही कमजोरी फेला नगरेपछि थप अनुसन्धान गर्न सम्पति सुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो ।
सम्पति शुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनैपनि कमजोरी नदेखिएपछि २०७८ माघ १७ गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखि पठाएको थियो । तर पत्र पाएपनि राष्ट्र बैंकले विभिन्न बहाना बनाएर खाता रोक्का राखेको शाहको भनाई छ ।
उक्त समस्यापछि आफूले अर्थमन्त्रीलाई पत्र लखेको उनको भनाई छ । शाहले पत्रकार सम्मेलनका क्रममा भने,“ राष्ट्र बैंकले कुनैपनि कारणबाट मलाई फसाउन नसक्ने भएपछि त्यहाँका अधिकारीबाट पत्रकारलाई झुट्टा र भ्रामक तथ्य दिएर समाचार छपाएको कि भन्ने प्रश्न भन्ने मलाई लागेको छ । ”








