एमसिसीबारे गम्भीर बहस जारी छ : सभामुख सापकोटा

काठमाडौं, ३ चैत । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका छन् ।
सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा सभामुख महराले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको जानकारी दिए । ‘एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ’, उनले भने, ‘दलहरुभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ ।’
उनले दलहरुबीच सहमति भएपछि सभामुखले सहजीकरण मात्रै गर्ने उल्लेख गरे । विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने उक्त सहयोग ग्रहण गर्ने वा नगर्ने सम्बन्धमा बहस भइरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसी सहयोग लिने-नलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसिसीका कतिपय प्रावधान संशोधन गरेरमात्र सहयोग ग्रहण गर्न सुझाव दिएको छ ।
दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुख निर्वाचन
सभामुख सापकोटाले दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए । उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको उनको भनाई छ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।