रौतहटको गौर नगरपालिकामा यी हुन् मेयरका आकांक्षी
रौतहट । स्थानीय तहको चुनाव नजिकिदै गर्दा रौतहटको गौर नगरपालिकामा मेयरका आकांक्षीहरूले आफनो दाबी सुरु गरेका छन् ।
गौरमा राजनीतिक दल तथा स्वतन्त्रबाट मेयरको उमेद्वार बन्न बाहिर तथा आन्तरिक छलफल तिब्र बनेको छ । गौर नगरपालिकामा २०७४ मा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट अजय गुप्ताले मेयरको चुनाव जितेका थिए ।
उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका छन् ।
गुप्ताले फेरि दोहोरिने इच्छा व्यक्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट किरण ठाकुरले मेयरमा दाबी गरेकी छन् । उनी अहिले उपमेयर छिन् ।
सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसबाट नगरसभापति मोहन यादवले मेयरमा आकांक्षी देखाएका छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य शम्भु साहले मेयरको उमेद्वारीमा दाबी गरेका छन् । नेकपा एमालेबाट अनिल कुमार मिश्रपनि मेयरमा दाबी गरेका छन् ।
स्वतन्त्रबाट अनिमेश कुमार मिश्रले मेयरमा उमेद्वारी दिने तयारी गरेका छन् । विवेकशील साझा पार्टीका पूर्व केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक मिश्रले स्वतन्त्र उमेद्वारी दिने तयारी गरेका हुन् । पार्टी विभाजितपछि उनी स्वतन्त्र रहेका छन् ।
विवेकशील साझा पार्टीमा रहँदा स्थानीय तहमा राम्रो प्रभाव बनाएका मिश्रलाई कतिपय दलले आफ्नो उमेद्वार बन्न प्रस्ताव गरेका छन् भने अन्य दलका तर्फबाट मेयरका अकांक्षीले कसरत गरिरहेका छन् ।








