गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न छानबिन समिति गठन, अधिकारी स्वत : निलम्बनमा
काठमाडौं । मुलुकमा आर्थिक संकट गहिरिदै गएका बेला सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न छानबिन समिति गठन गरेको छ ।
छानबिन समिति गठन गरेपछि गर्भनर अधिकारी निलम्बनमा परेका छन् । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर अधिकारीबीच विवाद बढ्दै गएको थियो । यसबारे अर्थमन्त्रालयका अधिकारीहरू औपचारिक रुपमा बोल्न नमाने पनि स्रोतले गर्भनर अधिकारीमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको पुष्टि गरेको छ ।
सरकारले छानबिन समिति बनाएपछि गर्भनर अधिकारी स्वत : निलम्बनमा परेका हुन् । निर्णयको पत्र राष्ट्र बैंक पुगिसकेको राष्ट्र बैंक स्रोतको भनाई छ ।
हिजोको मन्त्रीपरिषद् बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेपनि गोप्य राखिएको थियो ।
आजमात्रै सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीबीच आरोप प्रत्यारोप चलेको थियो । कतिपय महत्वपूर्ण सूचना गर्भनर अधिकारीले मिडियालाई चुहाएको र उपयुक्त सल्लाह नदिएको अर्थमन्त्री शर्माको आरोप थियो ।
सरकार गठन भएदेखि नै गर्भनरलाई हटाउने कसरत भइरहेको थियो । कानुनी रुपमा हटाउन नमिल्ने भएपछि सरकार हच्किएको थियो । गर्भनर अधिकारीलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । तर पछिल्लो विवादपछि सरकारले गर्भनर अधिकारीलाई पदमुक्त गर्ने प्रकृया सुरु गरेको हो ।








