९ पुस २०८२, बुधबार

एमालेले भन्यो,‘गभर्नरमाथिको कारबाही निन्दनीय, प्रधानमन्त्री ‘अराजक अर्थमन्त्री’को दबाबमा आए’

प्रकाशित मिति :  10 April, 2022 2:14 pm



काठमाडौं । नेकपा एमालेले निलम्बित गर्भनरको बचाउ गर्दै ‘अराजक अर्थमन्त्री’को दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको टिप्पणी गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गबवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका नभएको एमालेको दाबी छ ।

सरकारले गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन सुरु गरेपछि एमालेको यस्तो प्रतिक्रिया आएको हो । छानबिन सुरु भएपछि गर्भनर अधिकारी निलम्बित छन् ।

विभिन्न समयमा अर्थमन्त्री भएका उपाध्यक्ष विष्णु पौडेल,उपाध्यक्ष सुरेन्द्र पौडेल र पूर्व गर्भनर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरेर अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्सेवकहरू यो सरकारका कोपभाजन भएका दर्जनौं घटनाहरू भएको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनका क्रममा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,“गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ ।”

गभर्नरमाथि निन्दनीय कारबाही

गभर्नरमाथिको पूर्वाग्रही कारबाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको भन्दै एमालेले भनेको छ,“नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ ।

अहिले त्यसको पुनरावृत्ति गरिएको छ । देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने थियो । तर, गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ ।”

वर्तमान सरकारले प्रायोजित रुपमा गभर्नरमाथि शुरुगरेको कारबाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत भएको एमालेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !