नेकपाका स्कुलिङ्ग विभाग प्रमुखले भने,‘हामी स्वतन्त्र उम्मेद्वार लिएर चुनावमा जान्छौं’
अनिल नेपाली-
अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले आवश्यकताको आधारमा राष्ट्रप्रेमी देशभक्त उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्ने बताएका छन् ।
नेकपा अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
उनले देश संकटग्रस्त अवस्थामा रहेको बताउँदै निकासका लागि जनताको पक्षमा सधै निर्णय गर्ने बताए । स्थानीय चुनाव र एमसीसीलाई विदेशी शक्तिकेन्द्रले एकै ठाँउमा राखेर राजनीतिक दललाई लडाउन खोजेकोले आफूहरुले स्वतन्त्र उम्मेद्वार उठाएर संसदीय व्यवस्थालाई असफल बनाउन खोजेको जिकिर गरे ।
क्रान्तिकारी हुनका लागि जुनसुकै मोर्चामा पनि लड्न तयार हुनुपर्ने बताउँदै जटिल समयमा केही गर्न नसक्ने र सहज परिस्थतिमा क्रान्तिकारी कुरा गर्ने व्यक्तिहरु देखापरेको टिप्पणी गरे ।
नेपालका केही राजनितिक दलले अझै पनि नेकपाले चुनाव बहिष्कार गरिदिए हुन्थ्यो भन्ने सोंच रहेपनि आफूहरु भने जनताकोबीचमा जाने र एमसीसी तथा संसदीय व्यवस्थाबारे भण्डाफोर अभियाउन चलाउने भुसालको भनाई थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अर्घाखाँची ईन्चार्ज संगम पुनले आवश्यकताका आधारमा नेतृत्वले गरेको निर्णयलाई सबैले आत्मसाथ गरेर जानुपर्नेमा जोड दिए ।








