वैशाख ५ गतेभित्र उमेद्वार सिफारिस गर्न माओवादी केन्द्रको परिपत्र, यसरी लाग्ने छ उमेद्वारको टुंगो
काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका उमेद्वारहरुको नाम नेकपा माओवादी केन्द्रले केन्द्रबाटै टुंगाउने भएको छ ।
मातहतका निकायलाई पठाइएको परिपत्रमा सम्र्वसम्मत भए ११ जना र नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्न भनिएको छ । पेश गरिएको नाम केन्द्रीय कार्यालयले उमेद्वारको अन्तिम निर्णय गरी पठाउने उल्लेख छ ।
यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको उमेद्वारको अन्तिम टुंगो प्रदेश समितिले लगाउन भनिएपनि अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने उल्लेख छ ।
परिपत्र अनुसार नगरपालिका र गाउँ पालिकाका प्रमुख र उपप्रमुखहरुको सिफारिस सम्बन्धित पालिका र समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उमेद्वारको टुंगो लगाउने छ ।
अनुमोदन भने केन्द्रीय कार्यालयले गर्नुपर्ने छ ।
मातहतका निकायमा परिपत्र गर्दै नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष र सदस्यहरुको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने भनिएको छ । सबै उमेद्वारहरुको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नुपर्ने छ ।








