माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो”, अध्यक्ष दाहाले भन्नुभयो, “अरुका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाईं हो ।” निर्वाचनको समय नजिक आइसकेको भन्दै उनले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गरे ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताए । “अन्य दललाई परिवर्तनको माया छैन, हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौँ”, उनले भने ।
फरक कार्यक्रममा अध्यक्ष दाहालले कैलाली जिल्लामा माओवादी प्रवेशको लहर चलेको र २०६४ सालको नतिजा फर्कने सम्भावना प्रवल भएको बताए । नेत्र विक्रम चन्दको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पनि माओवादी प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिँदै उनले कैलालीमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरे ।
कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चौधरीलगायत नेकपा ९एमाले० कैलाली र सोलुखुम्बुका सयौँ नेता कार्यकर्ता माओवादी प्रवेश गर्नुभएको थियो । “यसले सुदूर पश्चिमका साथै देशभर नै प्रभाव पर्ने देखिएको छ”, उनले भने, “देशभरका माओवादी कार्यकर्तालाई फेरि एकचोटी एकीकृत हुन आह्वान गर्ने गरी संसारभर फैलिएको छ, निर्वाचनको ब्याटल जित्नुपर्ने छ । निर्वाचनको समयमा एक जुट भएका छौँ ।”
पश्चिममा मात्र होइन पूर्वको सोलुखुम्बुमा पनि पार्टीप्रतिको आकर्षण बढेको र एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेक्रम बढेको उनले बताए । “एमालेले कस्तो राजनीति गरिरहेको छ भन्ने तपाईंहरूले पनि अनुभव गरेको, मैले पनि तीन वर्ष एउटै पार्टीमा रहँदा अनुभव गरेँ”, अध्यक्ष दाहालले भने, “अब हामी एक भएका छौँ, हामीले ब्याटल जित्नुपर्छ, माओवादीले निर्वाचन जित्नु राष्ट्र, परिवर्तन, गणतन्त्र, सङ्घीयताले जित्नु हो ।”रासस








