४ जेष्ठ २०८१, शुक्रबार

स्थानीय निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

प्रकाशित मिति :  12 April, 2022 5:25 pm


काठमाडौं । स्थानीय निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।

मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णय र सिफारिस अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न “स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते सरकारलाई सिफारिस गरेको थियो ।

सुरक्षा परिषद्को सिफारिस अनुसार मन्त्रिपरिषद्को चैत २४ गतेको बैठकले सेना परिचालनका सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिस अनुसार बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम आज राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !