चितवनको भरतपुरमा ५० जना कांग्रेस नेता कार्यकर्ताकाे समूहिक राजीनामा
चितवन । चितवनको भरतपुरमा पार्टी माओवादीकरण भएको आरोप लगाउँदै ५० जना कांग्रेस नेता कार्यकर्ताले समूहिक राजीनामा घोषणा गरेका छन् ।
भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
स्थानीय अगुवा प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको छ।
पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजीनामा दिएको कांग्रेस कार्यकर्ता प्रकाश कँडेलले जानकारी दिए । भरतपुरमा नेपाली कांग्रेसले मेयरको दाबी गरिरहेको छ भने माओवादीले पनि आफूले पाउनुपर्ने अडान कायमै राखेको छ ।
भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने तयारी गरिएको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ताले विरोध गर्दै आएका छन् । विरोधकै बिच कांग्रेसका कार्यकर्ताले राजीनामा दिएका हुन् ।








