६ पुस २०८२, आइतबार

निर्वाचन भन्दा पनि अर्थतन्त्रमा सुधार आए मात्रै बजार फर्किन्छ : अध्यक्ष पोख्रेल

प्रकाशित मिति :  18 April, 2022 4:12 pm


साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयरबजारमा भारी अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पनि सेयर बजार सकरात्मक बन्न सकेको छैन ।

स्थानीय तहको निर्वाचन हुने पक्का भएसँगै सेयर बजार बढ्छ भन्ने आम लगानीकर्ताको आशा निर्वाचनको मिति नजिकैदै गर्दा निराशामा परिणत हुन लागेको छ ।

निर्वाचनको लागि स्थानीय तहले पनि खर्च गरिरहेका छन्, दलहरुले पनि चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन् यस्तो अवस्थामा पनि बजारमा झन दिन दिनै भारी अंकको गिरावट आएको छ ।

निर्वाचनले गर्दा सेयर बजारमा बढ्छ भन्नेमा ढुक्क हुन नहुने नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।

“सेयर बजार प्रभावित हुने मुख्य कुरा भनेको नै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता संकट हो ।” पोख्रेलले भनिन् “यस भन्दा अगाडिका निर्वाचनहरुमा पनि बजार खासै बढेको देखिएन त्यसैले देशको अर्थतन्त्रमा सुधार आएमा मात्रै सेयर बजारमा पनि सुधार देखिन्छ ।”

पोखरेलका अनुसार राष्ट बैंकले लगाएको ४÷१२ को क्यापमा एक वर्ष भित्र क्लियर गर्नुपर्ने भनिएको छ जसअनुसार ऋण तिर्नुपर्ने हुन्छ, नविकरण पनि गरिएको छैन त्यसैले उक्त ऋण तिर्न लगानीकर्ताले सेयर बेच्नुपर्ने बाध्यात्मक अवस्था पनि रहेको छ ।

सेयर बजारको वियरिस टेण्ड देखेर क्रिप्टो तथा अन्य डिजिटल करेन्सीमा लगानी गर्दा देश भित्रको पैसा बाहिर गएको पोखे्रलले बताईन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ६.८२ अंकले घटेर ४४४.१५ अंकमा झरेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ४ करोड ९६ लाख २६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज पनि नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ।

कूल २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !