५ जेष्ठ २०८१, शनिबार

कान्तिपुर टेलिभिजन अगाडि पत्रकार महासंघकाे धर्ना सम्पन्न, मङ्गलवार र बुधवार नागरिकमा

प्रकाशित मिति :  18 April, 2022 6:12 pm


काठमाडौं । नेपाल पत्रकार महासंघले धर्नासहितका विरोधका कार्यक्रम घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत महासंघकाे नेतृत्वमा साेमबार कान्तिपुर टेलिभिजनकाे कार्यालय अगाडि धर्ना कार्यक्रम सम्पन्न भएकाे छ।

श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने, नियमित पारिश्रमिक नदिनेलगायत समस्या बढेकाे भन्दै विराेध गर्दै पत्रकारहरूले धर्ना दिएका हुन्।

कान्तिपुर टेलिभिजनले पत्रकार दीपा दाहाललाई गरेको निष्कासन विरुद्ध धर्ना दिंदै महासंघले पत्रकार दीपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली गर्न माग गरेकाे छ । सरकारले ताेकेकाे न्यूनतम पारिश्रमिक लागु हुनुपर्ने, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्ने लगायतका माग राखिएकाे छ।

विभिन्न बहानामा निष्कासित गरिएका सबै पत्रकारहरूलाई पुनर्बहाली गर्न महासंघले माग गरेकाे छ। सञ्चार गृहसँग पटक/पटक पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत बेवास्ता गरिँदै आएपछि विरोध कार्यक्रम गर्नुपरेको महासंघले जनाएको छ ।

विराेध कार्यक्रम अन्तर्गत महासंघले नागरिक दैनिकको कार्यालयमा वैशाख ७ र ८ गते दिउँसो १२ देखि १ बजेसम्म धर्ना कार्यक्रम गर्ने जनाएको छ ।‍ यसअघि काेराेना महामारीकै बीचमा विभिन्न मिडियाबाट पत्रकारहरू जागिर बाट निकालिएकाे, पारिश्रमिक उपलब्ध नगराएकाे, अनुचित सरुवा लगायतका विषयकाे विराेधमा पत्रकारहरूले चरणवद्ध संघर्ष गरेका थिए।



प्रतिक्रिया दिनुहोस !