किन नियन्त्रणमा आएन रोल्पामा अफिम खेती ?
उमा केसी ।
रोल्पा । रोल्पा प्रहरीले वर्षेनी अफिम खेती नष्टका लागि अभियान चलाउँदै आएको छ ।
यसै सिलसिलामा रोल्पा प्रहरीले २ सय १० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरीका कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले बताए ।
पछिल्लो समय थबाङ गाउँपालिका वडा नं. ४ मालागिरी, जुत्तर, नयाँगाउँ र गुराँसे लगायतका स्थानमा खेती गरिएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ । अफिम खेती नष्ट गर्नका लागि २६ जना प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा अफिम खेती गरिएको क्षेत्र पहिचान गरिएको थियो ।
केही दिन अघि परिवर्तन गाउँपालिका वडा नं. ४ सिजाखोलामा पनि प्रहरीले अफिम खेती नष्ट गरेको थियो । स्थानीयले आफ्नो बारीमा लगाएको करिव नौ कठ्ठा जग्गाको अफिम खेती नष्ट गरिएको थियो ।
प्रहरीले त्रिवेणी गाउँपालिकाको गैरीगाउँमा पनि स्थानीयले लगाएको अफिम नष्ट गरेको थियो । प्रहरीका अनुसार रोल्पाका मध्य र उत्तरी भागमा चेरश, अफिम खेती गर्ने गरेको पाइएको छ ।
अफिम खेती नष्टका लागि प्रहरीले वर्षेनी अभियान चलाए पनि खेती गर्नेको संख्या घट्नुको साटो बढ्दै गएको स्थानीयको आंकलन छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष समेत रहेका थबाङका स्थानीय मौसम रोकामगरले रोल्पा र रुकुममा अफिम खेती खुलेआम हुने गरेको बताए । उनका अनुसार स्थानीयले आफ्नो बारीमा भाङ्गो लगाउने गर्छन् ।
भाङ्गोबाट चरेशका अतिरिक्त यसको दाना अचार खाने र त्यसको रेशाबाट बन्ने कपडा विभिन्न उपयोगमा प्रयोग गरिन्छ ।
उनी भन्छन “राज्यले अफिम खेती प्रतिबन्ध गरे पनि यसको पूर्ण रुपमा नियन्त्रण गर्न सकेको छैन ।
यसो हुनुमा यो चाहिं यहाँको गरिबी र जिविकोपार्जनसँग जोडिएको छ । त्यस्तै यसको बहुउपयोगले पनि यसलाई नियन्त्रण गर्न गाह्रो भएको हो ।”
थबाङकै हिरा वहादुर वुढा मगरले पनि रोल्पा र रुकुममा खेती हुने गरेको अफिम पूर्ण रुपमा नियन्त्रण गर्न गाह्रो रहेको बताउँछन् ।
बुढा भन्छन् “प्रहरीले वर्षेनी स्थानियको बारीमा लगाएको भाङ्गो अफिम उत्पादन गर्ने साधन भनेर नष्ट गर्छ । चरेश ओसारको अभियोगमा कतिपय मानिसहरु प्रहरीद्धारा पक्राउ पनि पर्छन् । कतिपय अहिले पनि जेल जीवन बिताई रहेका छन । तर पनि स्थानियले भाङ्गो खेती गर्न छोडेका छैनन ।”
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष समेत रहेका अधिकारकर्मी खेम बहादुर बुढामगर राज्यले अफिम नियन्त्रण गर्ने भन्दा पनि खुला गरेर करको दायरामा लिनु पर्ने तर्क गर्छन् ।
“यो त यहाँको परम्परागत बाली हो । कतिपयले चरेश बनाउलान, त्यो फरक कुरा हो । तर चरेश बनाउनका लागि मात्र नभई स्थानीयले आफ्नो उपयोगका लागि पनि भाङ्गो खेती गर्छन् ।”
उनी भन्छन्,“रोल्पा, रुकुममा हुने भाङ्गो खेती नियन्त्रण गर्न राज्य असफल भई सक्यो । अब यसलाई खुला गरेर राज्यले करको दायरामा ल्याउन ढिला गर्नु हुँदैन । यसो ग¥यो भने यो जिविकोपार्जनको स्रोत बन्ने ठूलो सम्भावना छ । राज्यलाई कर पनि हुन्छ । गरिबी न्यूनीकरणमा सहयोग पनि पुग्छ ।”
महिला अधिकारकर्मी श्रीकुमारी रोका राज्यले खेती गर्न प्रतिबन्ध लगाएको भाङ्गो थबाङका महिलाको परम्परागत जिविकोपार्जनको स्रोत रहेको बताउँछिन् ।
“अहिले पो गाउँमा शहरबाट सामान आउँछ र ! उहीले त यही भाङ्ग्राको कपडा लगाइन्थ्यो । भाङगो खेती गरिएन भने कपडा के लगाउने भन्ने ठूलो चिन्ता हुन्थ्यो ।” उनी भन्छिन् “गाउँका सबै दिदी बहिनी यही भाङ्गो काटेर दिन कटाउँथे ।”
रोल्पा प्रहरीले अफिम नियन्त्रणका लागि बर्षेनी अभियान चलाए पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक बिनोद घिमिरे पनि स्विकार गर्छन् ।
उनी भन्छन् “अफिम खेती नियन्त्रण गर्न राज्य तराईमा त धेरै सफल भयो । तर यहाँ भौगोलिक विकटता छ । खेती गर्न पनि सजिलो हुने रहेछ । हामीले नियन्त्रणका लागि प्रयास त गरी रहेका छौं । विस्तार नियन्त्रण हुन्छ होला ।”








