बिहानैदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा, झडपमा १४ प्रहरी घाइते
सिन्धुली । बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।
मङ्गलबार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले जानकारी दिए ।
प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआई बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा राजमार्ग अवरुद्ध गरेपछि घटनास्थलमा गएको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेको उनले बताए ।
स्थानीयको आक्रमणबाट १४ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई प्रहरी अस्पताल काठमाडौँमा पठाइएको र ११ जना उपचारपछि घर पर्किएका छन् भने दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
स्थानीयको ढुङ्गा, सिसाका बोतल प्रहारबाट वरिष्ठ प्रहरी हवल्दार विजयकुमार यादव, प्रहरी जवान जोसना श्रेष्ठ, लीला खत्री, कर्णबहादुर मुग्राती, घनश्याम चौधरी, रमेश लामा र गोपाल थारु घाइते हुनुभएको छ ।
यस्तै प्रहरी हबल्दार भोला राउत, निजामुदी मिह, प्रहरी जवान विमला श्रेष्ठ, सञ्जित श्रेष्ठ, भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोला घाइते हुनुभएको छ । घाइतेमध्ये जोसना श्रेष्ठको उपचारका लागि प्रहरी अस्पताल काठमाडौँ पठाइएको र अरु १० जना डिस्चार्ज भएको प्रहरी उपरीक्षक कडेलले जानकारी दिए ।
अस्पतालमा भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोलाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य नै रहेकाले केही समयपछि घर पठाइएको जानकारी दिए । घाइतेको टाउको, कुम र खुट्टामा सिसाका बोतलले काटेको चोट लागेको छ । प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको थियो । प्रहरीको संयमताले घटनामा मानवीय क्षति भने हुन पाएन । रासस








