सत्तारुढ गठबन्धनले सात प्रदेशमा सातवटा चुनावी सभा गर्ने
प्रकाशित मिति : 21 April, 2022 3:48 pm
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि सात प्रदेशमा सातवटा चुनावी सभा गर्ने भएको छ ।
‘स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्र’को आज बसेको बैठकले सात प्रदेशका ठूला शहरमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।
सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् । गठबन्धनको चुनावी सभा वैशाख १८ देखि २२ गतेसम्म हुने छ ।
गठबन्धनको निर्णय अनुसार धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा वैशाख १९ गते, विराटनगर र जनकपुरमा वैशाख २० गते तथा काठमाडौंमा वैशाख २२ गते चुनावी सभा हुने छ । चुनावी भागबन्डा टुंग्याएपछि गठबन्धनले सभा गर्न लागेको हो ।








