५ जेष्ठ २०८१, शनिबार

चन्द्रागिरिमा महिलालाई वितरण गर्न लागिएको साडी प्रहरीद्वारा बरामद

प्रकाशित मिति :  23 April, 2022 11:18 pm


काठमाडौं । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ ।

उक्त साडी चन्द्रागिरि नगरपालिका–८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो । चन्द्रागिरि नगरपालिका–८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाऊँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज आउन भनी आग्रह गरेका थिए। रासस



प्रतिक्रिया दिनुहोस !