मध्यपुर थिमिमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु
ठिमी । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटो चोकमा सोमबार राति टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।
नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई चारदोबाटो चोकमा ठक्कर दिएको थियो ।
काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको टिपरको ठक्करबाट मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका ३३ वर्षीय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए।








