७ पुस २०८२, सोमबार

श्रममन्त्री नेतृत्वको टोली भोलि मलेसिया जाने,एजेण्डाबारे राजदूतसँग छलफल

प्रकाशित मिति :  26 April, 2022 1:07 pm


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने भएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ भोली चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन् । मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीरुबीच द्धिपक्षीय हितका साथै सहकार्यका बिषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए ।

मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली भोली दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल(मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन् ।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसंग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !